जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप

पालिका डायरी
५ कार्तिक २०७८, १५:३८
जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप

 

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।

बिहीबार कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा लिएर कुटपिट गरी अर्धनग्न बनाउँदै हिलो पोतेर नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना नेता/कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको हो ।

उनीमाथि अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने प्रायः सिराहा, सर्लाही र महोत्तरीका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उनीहरूविरूद्ध अभद्र र आपराधीक कार्य गरेको आरोपमा मुद्दा चलाइएको हो ।

मुद्दा लगाइएकामा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो छन् ।

यसैगरी, विजय यादव, सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

आरोप प्रमाणित भएमा आरोपितहरुलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रबन्ध छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको घर छेउ खनिएको सडक खाल्डो नपुरेको आरोपमा कुशवाहामाथि दुर्व्यवहार गरिएको थियो । जसको सर्वत्र आलोचना भएको थियो भने अराोपितहरुलाई कार्वाही गर्न माग भएको थियो ।

डिएसपी वस्नेतकाअनुसार पक्राउ परेका ५२ मध्ये १७ जनालाई मुद्दा चलाई अरुलाईं छाडिने भएको हो ।

प्रतिक्रिया
Janakpur-durbewahar