मउवा संघको चुनाव ÷कतै तीव्र प्रचार प्रसार, कतै अन्यौलता

पालिका डायरी
३ कार्तिक २०७८, २०:३१
मउवा संघको चुनाव ÷कतै तीव्र प्रचार प्रसार, कतै अन्यौलता

सुनिता बिष्ट

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको यहि कार्तिक ९ गते हुने निर्वाचनको तयारी भरपुर भैरहेको पाइन्छ । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि तीन जना व्यवसायीहरुले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई जना अध्यक्ष पदका उम्मेदवारका प्यानलका उम्मेदवारहरु समेत प्रचा प्रसारमा जुटिरहेका बेला अध्यक्ष पदकै उम्मेदवार महेन्द्र राउत भने निर्वाचन हुन जम्मा ६ दिन मात्रै बाँकी हुँदा समेत अझै मौन देखिन्छन् ।

केहि समयअघि निर्धक्क भएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएर व्यवसायीहरु सँग मत माग्दै हिडेका राउत पछिल्लो समय चुनाव आउनै लागिसक्दा पनि किन मौन देखिन्छन् भन्ने आम् सर्वसाधारणहरुको चासोको बिषय बनेको छ । राउतको सम्पर्क सचिवालय पनि छ । प्रचार प्रसार समिति पनि छ तर पनि बजार सँगै सामाजिक सञ्जालमा समेत अध्यक्ष पदको प्रचार गरेको पाइँदैन ।
अघिल्लो बर्ष नै सम्पन्न भैसक्नुपर्ने मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचनको क्रियाकलापहरु कोरोना जोखिमका कारण पटक÷पटक स्थगन गरियो । एक कार्यसमितिले ३ बर्षको अवधि सम्म मात्रै कार्यभार सम्हाल्न पाउने नियम रहेपनि कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै निर्वाचन कार्यक्रम तथा साधारणसभा स्थगन गरिएको थियो । पछिल्लो पटक बैशाख महिनामा हुने भनिएको चुनावी सरगमी कोरोना संक्रमण जोखिम न्युनिकरणको लागि भन्दै अनिश्चितकालको लागि भन्दै मकवानपुर उद्योग वाणिज्य संघले विज्ञप्ती निकाल्दै स्थगन गरेको साधारण सभा तथा निर्वाचनको कार्यक्रम स्वास्थ्य सावधानी अपनाउँदै गर्न पाउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्णय गर्यो ।

जिल्ला प्रशासन कार्यालयबाट सुखद् निर्णय आएपछि लामो समयदेखि चुनावी माहोल हराएको समयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार सँगै अन्य पदहरुको उम्मेदवारी दिएका व्यवसायीहरु पुनः चुनावी माहोल अघि बढाउने तरखरमा लागेका छन् । २०७७ साल देखि नै धेरै पटक समय परिर्वन हुँदै आइरहेको साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगन भएपछि उम्मेदवारहरु निराश थिए । तर भने निर्वाचनकै दिन नजिकिँदा समेत अध्यक्ष पदका उम्मेदवार अझै अन्यौलमा रहेको सजिलै देख्न सकिन्छ ।
प्रचार प्रसारमा यति धेरै अन्यौलता किन भन्ने प्रश्नमा मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राउत आफु अझैपनि व्यवसायी तथा सरोकारवाला मानिसहरु सँगको छलफलकै क्रममा रहेको बताउँछन् । गुठ, उपगुठ तथा समूहको झमेलाको कारण मौन बस्नुपरेको राउतको दाबी छ । त्यसो त अब निर्वाचन आउन ६ दिन मात्रै बाँकी हुँदा पनि कसरी अगाडी बढ्ने भन्ने कुरा छलफलकै क्रममा रहेको उनको भनाइ छ ।

तर बजारमा हल्ला भएजस्तो अध्यक्ष पदको उम्मेदवारी नै फिर्ता होला कि भन्ने कुरामा भने सत्यता नरहेको राउत बताउँछन् । ‘‘उम्मेदवारी फिर्ता गर्ने भन्ने होइन । कुनै गुठ, कुनै पार्टी तथा कुनै पनि व्यक्तीको पक्षमा नरहेर पनि मैदानमा जाँदा साथ दिने व्यवसायीहरु आफ्नो साथमा कति हुन्छन् भन्ने कुरामा विचार गरिरहेको छौं ।’’ निर्वाचनको अन्तिम घडीमा आएर आफु पछि नहट्ने बताउँदै राउतले भने ः एउटै पार्टीबाट चुनावमा जाँदा धेरै जोखिम मोल्नुपर्छ । मिलेरै जाऊँ भन्ने प्रस्ताव पनि नआएको त होइन । तर के गर्दा उचित होला भन्ने छलफल चलिरहेको छ । आफ्नो उम्मेदवारीबाट भने पछि नहट्ने निश्चित छ ।
‘पहिला पनि राम्रै तयारीमा जुटिसकेका थियौं । तर कोरोना जोखिमलाई नै मध्यनजर गरेर सबै कार्यक्रमहरु स्थगित भए । बीचमा ४÷५ महिना कुनै गतिविधि नभएता पनि अब त्यसै अनुसार सुरु गर्ने योजनामा पनि रहेको छु,’ राउतले भने । राउत विद्यार्थी जीवन देखि नै नेपाली कांग्रेसका सक्रिय युवा नेताको रुपमा परिचित रहेका छन् भने मकवानपुर उद्योग वाणिज्य संघका हालको उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्ष पदका अर्का उम्मेदवार कृष्णकुमार अग्रवाल गुप्ताले केहि समय अगाडी मात्रै नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । एउटै पार्टीबाट चुनावी मैदानमा जाँदा जोखिम सामना गर्नुपर्ला कि भनेर अन्यौलता छाएको समेत राउतको दाबी छ ।
त्यसो त राउत आफुसँग मिलेर जानेमा आफुलाई पुर्ण बिश्वास रहेको अग्रवालको दाबी छ । आफुले सहयोगको लागि आग्रह गरिरहेको र उहाँले आफ्नो आग्रहलाई बेवास्ता नगर्नेमा ढुक्क रहेको बताउँदै अग्रवालले भने ः मिलेर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँ सँगको छलफल अझै पनि जारी नै छ । सकेसम्म मिलेर एक भएर चुनावमा उत्रने प्रयासमा छौं । र म यस कुरामा पुर्ण रुपमा ढुक्क नै छु कि उहाँले मलाई साथ दिनुहुनेछ ।

 

प्रतिक्रिया