मकवानपुरमा सात दिनमा ९५ पसलमा अनुगमन

पालिका डायरी
१९ आश्विन २०७८
मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

 

हेटौंडा/ हिन्दु नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठ नजिकिएसँगै बजारमा सामान किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । चाडपर्वको समयमा उपभोक्ता ठगिने र व्यापारीहरुले सामानहरुमा छुट दिने तथा विभिन्न प्रायोजनहरु देखाएर ग्राहक तान्ने काम हुने गरेका छन् ।

प्रतिस्पर्धामय बजारमा व्यवसायीहरुले चाडपर्वको समयमा अनेक उपायहरु बजारमा कालोबजारी गर्ने, कृत्रिम अभाव सृर्जना गर्ने , अस्वभाविक रुपमा मुल्य बृद्धि गर्ने, म्याद नाघेका सामानहरु बिक्री वितरण गर्ने जस्ता कार्यहरुलाई न्यूनिकरण गर्दै उपभोक्ताको हितको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन समिति बनाइएको छ । सोही समिति मातहतमा रहेर हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न पालिकाहरुमा चाडपर्व लक्षित बजार अनुगमन कार्य सञ्चालन भैरहेका छन् ।

समितिले असोज ११ गतेदेखि सुरु गरेको बजार अनुगमनमा हेटौंडा उपमहानगरपालिका लगायत मकवानपुर जिल्लाका अन्य गाउँपालिकाको ९५ वटा खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरेको छ ।
यसैअनुरुप उक्त अनुगमन समितिले जिल्लामा रहेका विभिन्न खाद्यान्न तथा किराना पसल, औषधी पसल, होटल तथा खाजाघर, तरकारी बजार लगायतका अन्य पसलहरुमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिए ।
अनुगमनको क्रममा जिल्लामा रहेका खाद्यान्न तथा किराना पसलहरु ५७ वटा कारवाहीमा परेको न्यौपानेले बताए । उक्त पसलहरुमा मुल्य सुची प्रष्ट देखिने ठाउँमा नराखिएको, सरसफाई नभएको, ग्राहकलाई बिल दिने व्यवस्था नभएको लगाएतका कारण कारवाही गरिएको अनुगमन समितिले जनाएको छ । टोलीले सबै प्रकारका मापदण्डहरु पालना गर्दै र मास्क लगाउन भीडभाड नगरी वस्तु तथा सेवा प्रदान गर्न सुझाव दिइएको बताइएको छ ।

यस्तै होटल तथा रेष्टुरेन्टहरुमा पनि यस्तै प्रकारका लापरवाही गरिएको २७ वटा होटल रेष्टुरेन्टहरुलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरसफाईमा ध्यान नदिएको र मूल्यसुची नटासी सञ्चालन गरिएको १ होटललाई १० हजार रुपैंया जरिवाना समेत गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा जिम्मवार रहेको एउटा औषधी पसलहरु लाई नगद जरिवाना तथा एउटा औषधी पसलमा ताला लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । औषधीको मूल्यसुची प्रष्ट देखिने ठाउँमा नटासेको तथा फर्मासिष्ट नराखी औषधी बिक्री गर्ने एउटा औषधी पसलमा अनुगमन टोलीले ताला लगाएका हुन् । शनिबार राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा मकवानपुर जिल्ला प्रशासन कार्यलयले ताला लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएका थिए । संचालकले कर्मचारीको आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको बताईएको हो । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा अनुगनमन गरिएको थियो । साथै एउटा औषधी पसलमा पनि फर्मासिष्ट नराखि औषधी बिक्री गरेको पाइएको भन्दै १५ हजार रुपैंया नगद जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए । अनुगमन सुरु गरिएदेखि हालसम्म ११ वटा औषधी पसलमा अनुगमन गरेको बताइएको छ ।
त्यस्तै जिल्लाभित्र उपभोक्ता हित विपरितका क्रियाकलापहरु कहि कतै गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा तुरुन्त जानकारी तथा गुनासो गर्न जिल्लाका सर्वसाधारणहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध समेत गरेको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना
मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो ।
कार्यालद्वारा जारी सुरक्षा योजना अनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवत जावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटौंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिक सहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ ।

यसैगरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेले बताए । त्यस्तै कोभिड संक्रमणको जोखिमीलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,सांगीतिक कार्यक्रम, चिठ्ठा बिक्री वितरण एवं चिठ्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ ।
जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि निरन्तर अनुगमन गरिने र मठमन्दिर लगायत अन्य धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको छ । सुरक्षित एवं भय रहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया