स्वास्थ्य सावधानीे बढ्दैः जिल्लामा १४ जना मात्रै डेंगू बिरामी

पालिका डायरी
१० आश्विन २०७८, २०:२७

हेटौंडा / जिल्लामा आर्थिक बर्ष २०७७÷०७८ मा १४ जना मात्रै डेंगूका बिरामी फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिइको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ३ हजार ३८ जनामा फेला परेको डेंगू गत आर्थिक बर्ष २०७७÷०७८ मा एकदमै न्यून देखा परेको हो । जिल्लाका सरकारी अस्पताल, निजी अस्पताल तथा निजी क्लिनिकमा गरी जम्मा १४ जना डेंगूका बिरामी फेला परेका हुन् । बिशेष गरी साउन महिना देखि कार्तिकको आधाआधी सम्ममा फेला पर्ने यो रोग मकवानपुर जिल्लामा गत आ.व मा १४ जनामा मात्रै देखापरेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

गत आर्थिक बर्ष २०७७÷०७८ मा साउन महिनामा १ महिला र २ जना परुषमा डेंगू फेला परेको थियो । त्यस्तै भदौ महिनामा १ महिला र ३ पुरुष, असोज महिनामा २ महिला र ४ पुरुषमा डेंगू रोगको संक्रमण भएको थियो भने कार्तिक महिनामा १ जना पुरुषमा डेंगु रोगको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ । आर्थिक बर्ष २०७६÷०७७ मा झण्डै ४ हजार मानिसमा संक्रमण भएको डेंगू रोग गत आर्थिक बर्षमा भने कमैलाई मात्र देखिएको पाइन्छ ।

कोरोना भाइरससँग बच्नको लागि अपनाइएको सुरक्षाका सावधानीको प्रभावका कारण पनि यो बर्ष डेंगूका बिरामी कम भएको स्वास्थ्य विज्ञहरुले आँकलन गरेका छन् । कोरोना सँग बच्नको लागि घर, आँगन देखि हरेक अवस्थामा सुरक्षाका सावधानीहरु अपनाइएको छ । फोहोर व्यवस्थापन तथा पानी जम्ने खाल्टाखुल्टीलाई व्यवस्थापन गर्दा डेंगूका बिरामी कम देखिएको सूचना अधिकारी घिमिरेले बताए ।
उनले भने ः ‘फोहोर भयो भने नै मानिसलाई विभिन्न प्रकारका रोगहरु लाग्ने गर्दछ । अहिले कोरोना सँग बच्नको लागि पनि मानिसहरु सफा गर्ने तिर केन्द्रित भएका छन् । त्यसो त यदी डेंगूको संक्रमण भयो भने अस्पतालमा उपचार गराउन पनि समस्या हुने डर छ । अस्पताल आउँदा कोरोनाको संक्रमण होला भन्ने मानसिकताको कारण पनि मानिसहरु घरमै बसेर सावधानीका उपायहरु अपनाइएको पाइएको छ ।’ सबैजना सचेत भएकै कारण डेंगूका बिरामी कम भेटिएको सूचना अधिकारी घिमिरे बताउँछन् ।

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । ससाना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ ।
डेंगू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रड्डको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगू सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगू रोग क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन् । क्लासिक डेंगू सामान्य प्रकारको डेंगू हो । यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

६८ जनामा स्क्रबटाइफस
यस्तै जिल्लामा मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी भने बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी संख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ६८ जनामा सो रोग फेला परेको छ जसमा ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ ।
यस अघि आ.व २०७६÷७७ मा २९ र आ.व २०७५÷०७६ मा २५ जनामा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी घिमिरेले जानकारी दिए । चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ ।

 

प्रतिक्रिया