मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार रामेश्वर रानाले यही फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा माहोल बनाउन उद्देश्यले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। पछिल्ला दिनहरूमा आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर रूपमा जनतामाझ पुगेका रानाले आज हेटौँडा उपमहानगरपालिका वडा नं. ६ र १६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले देश निर्माणको नेतृत्वदायी शक्ति भएको दाबी गरेका छन्।
कार्यक्रममा बोल्दै उनले स्पष्ट शब्दमा भने, “एमाले देश बनाउने शक्ति हो, देश बिगार्ने होइन।” उनले विगतका सरकारहरूको कामको समीक्षा गर्दै अबको निर्वाचन देशलाई सही मार्गमा फर्काउने अवसर भएको उल्लेख गरे। फरक राजनीतिक परिस्थिति र चुनौतीपूर्ण अवस्थाबीच हुन लागेको यस निर्वाचनलाई उनले निर्णायक मोडको रूपमा व्याख्या गरे।
रानाले कार्यकर्ता र समर्थकहरूलाई घर–घरमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आग्रह गरे। जनताका गुनासा, आलोचना र सुझावलाई गम्भीरतापूर्वक सुन्ने र समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउँदै उनले विकास, सुशासन र स्थायित्वलाई मुख्य प्राथमिकता बनाउने बताए।
उनका अनुसार देशलाई अस्थिरता र अव्यवस्थाबाट मुक्त गर्दै सही ट्र्याकमा ल्याउन देशभर एमालेको जित आवश्यक रहेको बताए। “राष्ट्रको स्वाभिमान, समृद्धि र स्थायित्वका लागि एमालेको बहुमत अपरिहार्य छ,” उनले भने।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताहरूले विभिन्न समस्या, अपेक्षा र सुझाव राखेका थिए। उम्मेदवार रानाले ती सबै विषयलाई समेटेर योजनाबद्ध रूपमा समाधान गर्ने विश्वास दिलाएका छन्। अभियानलाई थप प्रभावकारी बनाउन एमाले कार्यकर्ताहरू समेत उत्साहका साथ जनसम्पर्कमा खटिएका छन्।
मकवानपुरमा बढ्दो चुनावी गतिविधिसँगै राजनीतिक माहोल तातेको छ भने एमालेले आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गर्दै अभियानलाई थप सशक्त बनाएको छ।


