श्रम मन्त्री महर्जन र सचिव निरौलाबीच १७ बुँदे कार्यसम्पादन करार सम्झौता

पालिका डायरी
१२ भाद्र २०८१, २०:५१
श्रम मन्त्री महर्जन र सचिव निरौलाबीच १७ बुँदे कार्यसम्पादन करार सम्झौता

हेटौंडा / बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र सोही मन्त्रालयका सचिव बलराम निरौला बीच कार्यसम्पादन सम्झौता भएको छ । बुधबार मन्त्रालयमा मन्त्री महर्जन र सचिव निरौला बीचमा बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८० अनुसार कार्यसम्पादन सम्झौता गरिएको हो ।

मन्त्रालयको कार्यक्षेत्रको आधारमा चालु आर्थिक बर्ष २०८१/०८२ को बार्षीक स्वीकृत कार्यक्रमहरुको कार्यसम्पादन थप प्रभावकारी, नतिजामुलक तथा नागरिकमैत्री बनाउन प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ र नियमावलि, २०७७ को नियम ९(१) बमोजिम करार सम्झौता गरिएको मन्त्री महर्जनले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट हुने कामहरुलाई पारदर्शी र नतिजामुखी बनाउने उदेश्यका साथ कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

मन्त्रालयमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरुको १७ बुँदामा करार सम्झौता गरिएको छ । जसमा श्रम तथा रोजगार नीति अनुरुप आवश्यक कानुन तर्जुमा गर्ने, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ मा संशोधनको मस्यौदा, नियमावली, कार्यविधि र मापदण्डको तयार गर्ने उल्लेख गरिएको छ ।

यस्तै, आवश्यकता पहिचान गरी चार्जिङ स्टेशन सहितको स्मार्ट रिफ्रेन्स एण्ड ट्रन्सफर सेन्टर स्थापना गर्ने योजनाको सम्झौता भएको मन्त्रालयले जनाएको छ भने नमुनाको रुपमा स्वचालित ट्रायल सेन्टरहरुको स्थापना तथा सञ्चालन सुरुवात गर्ने भएको छ ।
कार्ड छपाई तथा वितरण कार्य सञ्चालन गर्ने साथै प्रविधिगत रुपमा नागरिक एप र राष्ट्रिय परिचय पत्रसँग सवारी चालक अनुमती पत्रलाई अन्तर आवद्धता गर्ने कार्यसम्पादन करार सम्झौतामा उल्लेख छ । त्यस्तै, सडक दुर्घटना न्यूनिकरण गर्न तथा सार्वजनिक यातायातालाई सुरक्षित बनाउन अनुशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउन सरोकारवाला निकायहरुलाई आवश्यक सूचना र परामर्श प्रदान गर्ने र संरचना र जनशक्ति व्यवस्थापन गर्ने, वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको व्यवसायिक प्रवद्र्धन गर्न संस्थागत विकास गरी सीपमुलक तालिम प्रदान गरिने उल्लेख छ ।

यस्तै, लक्षित वर्गका महिलाहरुलाई व्यवसायीक सवारी प्रशिक्षण प्रदान गरी रोजगार तथा स्वरोजगार बनाउन सहयोग गर्ने नीति मन्त्रालयले लिएको छ । सवारी चालक अनुमती पत्रको परिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन परिक्षार्थीहरुको बायोमेट्रिक हाजिरी र परिक्षा स्थलहरुको प्रविधिमा आधारित अनुगमन गर्ने मन्त्रालयले जनाएको छ । यस्तै, अटोल्यान्डको सम्भाव्यता अध्ययन गरी प्रतिवेदनको आधारमा अटोल्यान्ड स्थापना कार्य सुरुवात गर्ने जनाएको छ भने अटो मेकानिसलाई आवश्यक पर्ने औजारहरु उपलब्ध हुनेगरी नीजि क्षेत्रको सहकार्यमा सवारी साधन मर्मतका लागि टुल्स बैंक स्थापना गर्ने सम्झौतामा उल्लेख छ ।

मन्त्री महर्जन र सचिव निरौलाबीच १७ बुँदे कार्यसम्पादन करार सम्झौता कार्यान्वयनका लागि ८ बुँदे कार्यशर्तहरु राखेर कार्यसम्पादन करार सम्झौता समेत गरिएको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिए । करारको अवधि २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म रहने बताइएको छ । करारमा उल्लेख भएदेखि बाहेक नवप्रवद्र्धनात्मक र नियमित कार्यहरु समेत गर्न सकिने उल्लेख गरिएको छ । सुशासन ऐन, २०७७ र नियमावली २०७७ बमोजिमको प्रगति प्रतिवेदन नियमित रुपमा तोकिएको पदाधिकारी÷कार्यालयमा पेश गर्नुपर्ने कार्यशर्तमा भनिएको छ ।

कार्यसम्पादन करार सम्झौता गर्दै मन्त्री महर्जनले सामुहिक भावनाले सहकार्य गरेर बार्षिक लक्ष्य हासिल गर्ने कार्य गर्न निर्देशन दिए । त्यस्तै, नागरिकले महसुश गर्नेगरी सेवा प्रवाहमा सुधार गर्न तथा कार्य सम्पादन सम्झौताको पूर्ण कार्यान्वयन हुनेगरी गृहकार्यमा जुट्न समेत मन्त्री महर्जनले निर्देशन दिएका हुन् ।

 

प्रतिक्रिया