सवारी कर नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

पालिका डायरी
११ भाद्र २०८१, २०:३७
सवारी कर नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

हेटौंडा ।  बागमती प्रदेशमा सवारी कर तथा नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रिया गरिएको हो ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक बर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।

श्रम रोजगार तथा यातायात मन्त्री श्रम रोजगार तथा यातायात मन्त्री महर्जनले प्रदेशप्रति नागरिकको विश्वास बढाउन घरमै बसेर सुविधा लिने गरी योजना बनाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । प्रदेश सरकार र मातहतका कार्यालय प्रति नागरिकलाई विश्वस्त हुनेगरी कार्यसम्पादन गर्न आवश्यक रहेको बताउँदै मन्त्री महर्जनले भने, ‘यातायातसम्बद्ध करमा राखिएको छुटको व्यवस्था बारे संचारमाध्यम र सामाजिक संजाल मार्फत् सूचना सम्प्रेषण गरि सुसूचित गर्न आवश्यक छ । यसमा सबैले ध्यान दिएर काम गर्न लागि परौं ।’

यस्तै, कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री काफ्ले मन्त्रालयहरुले बनाएको योजनाहरुको कार्यान्वयनमा अर्थ मन्त्रालयले सधैं साथ दिने बताए । कार्यक्रममा सार्वजनिक खरिद ऐन, नियमावली अनुसार बाई ब्याक मेथोड अर्थात् पुरानो दिने नयाँ लिने विधिबाट सरकारी निकायले बिक्री गर्ने सवारी साधनक‍ो नामसारीको कार्यविधि तयार पार्ने सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन समेत मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली, श्रम मन्त्रालयका सचिव बलराम निरौला, मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेल, श्रम रोजगार मन्त्रीका राजनीतिक विज्ञ सल्लाहकार तुलसी प्रसाद रिजाल, मन्त्रीको सचिवालयका नीजि सचिव केशव हुमागाईंँ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया