बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिवद्ध छ : श्रम मन्त्री महर्जन 

पालिका डायरी
३२ श्रावण २०८१, १०:३६

हेटौंडा / बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

बिहीबार श्रम रोजगार मन्त्रालयको आयोजना तथा आसमान नेपाल र बाल कल्याण समाजको सहकार्यमा बागमती प्रदेशमा बालश्रम र बालश्रम नीति सम्बन्धी संवाद कार्यक्रममा आफ्नो मन्तव्य राख्दै श्रम मन्त्री महर्जनले बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकारले पहलकदमी चाल्ने बताएका हुन् । 

बालश्रमका ७ वटा कारणहरुको बारेमा मन्त्रालय गम्भीर भएर लाग्ने मन्त्री महर्जनले बताए । बालबालिकाहरु बालश्रममा लाग्नुमा परिवारको आर्थिक अवस्था कमजोर हुनु, परिवारमा हिंसा र विखण्डन, मानसिक र सामाजिक समस्या, विद्यालय छोड्नु पर्ने स्थिति,  निकृष्ट बालश्रम र दुर्व्यवहार र शोषणमा पर्नु जस्ता कारणहरु रहेकोले यस विषयमा सबैले बहस गर्न जरुरी रहेको उनले बताए । 

यी समस्याहरु हल गर्न सके बालश्रम न्यूनीकरणका लागि सहज हुने मन्त्री महर्जनको भनाई थियो ।  यस्तै मन्त्री महर्जनले २०८२ सम्म बालश्रम मुक्त प्रदेश बनाउनका लागि चुनौती रहे पनि यसलाई पूरा गर्न योजनाहरु बनाएरै लाग्नुपर्ने समेत बताए ।  

श्रम, रोजगार तथा यातायात मन्त्री महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री कुनुदनराज काफ्लेकाे  विशिष्ट  आतिथ्यता रहेका थियाे । त्यसैगरी अतिथिहरूमा पूर्व मन्त्री एका लाल श्रेष्ठ, बागमती प्रदेश सभाका सदस्यहरु प्रेम बहादुर पुलामी छिन्तु, लक्ष्मी देवी श्रेष्ठ, गाउँपालिकाका प्रमुख तथा उपप्रमुख रहेका थिए । त्यसैगरी कार्यक्रममा बालबालिका र श्रम क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया