माघ १२ गते दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुँदै

सुनिता विष्ट
९ माघ २०८०, २१:४७

हेटौंडा / शैक्षिक हबको रुपमा परिचित रहेको हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले शैक्षिक गतिविधिमा चासो देखाउँदै आएको छ । जिल्लाकै नाम चलेका विद्यालयहरु समेत यही वडामा छन् । भुटनदेवी माध्यामिक विद्यालय देखि आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयसम्म । त्यतिमात्रै होइन, निजी लगानीमा सञ्चालित राम्रा नाम चलेका बोर्डिङ स्कुलहरु समेत यसै वडामा पर्छन् । सोही अनुसार वडा कार्यालयले विभिन्न गुरु योजना नै बनाएर शैक्षिक गुणस्तर बृद्धिमा लगाव बढाइरहेको छ ।

जसअन्र्तगत माघ १२ गते शुक्रबार दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । वडाभित्रका विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा गराउने र विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको वडाध्यक्ष नवीन सिग्देलले बताए ।

उनका अनुसार यो कार्यक्रमबाट विद्यालयहरूले गरेका राम्रा अभ्यासको आदानप्रदान हुनेछ भने विद्यार्थीको प्रतिभा प्रकट हुन पाउनेछन् । यतिमात्रै होइन, यसबाट विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ । यस कार्यक्रमले अन्य वडालाई समेत शिक्षामा लगानी गर्न दबाब हुने बताए । लगानी गर्दा शिक्षा र स्वास्थलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘वडाले शिक्षामा गरेको लगानीको प्रतिफल बमोजिम सरकारी बिद्यालयमा बिद्यार्थीको संख्या उल्लेख्य बढेको छ । यो नै वडाले गरेका काम मध्येको पहिलो सफलता हो ।’

कार्यक्रममा विज्ञान, गणित र सामाजिक विषयको प्रदर्शनी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकलाई पुरस्कृत समेत गरिने शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालले बताए ।

विद्यार्थीलाई पुरस्कार, शिक्षकलाई प्रोत्साहन
उनका अनुसार शैक्षिक प्रदर्शनीमा पहिलो हुने विद्यार्थीको तीन समूहलाई १०÷१० हजार रुपैंया पुरस्कार दिइने बताइएको छ भने पहिलो हुने विद्यार्थीको सहयोगी शिक्षक तीन जनालाई प्रतिव्यक्ति ३÷३ हजारको दरले पोत्साहन रकम दिइन बताइएको छ ।
यस्तै द्धितिय हुने विद्यार्थीको टीमलाई ७ हजार रुपैंया र शिक्षकलाई २÷२ हजार गरी तीन जनालाई प्रोत्साहन रकम दिइने आयोजकले जनाएको छ । यस्तै, नृत्य तर्फ पहिलो हुने विद्यार्थीको समूहलाई १० हजार र शिक्षकलाई ३ हजार रुपैंया, द्धितिय हुने समूहलाई ७ हजार रुपैंया र शिक्षकलाई २ हजार रुपैंया र तृतिय हुने समूहलाई ५ हजार रुपैंया र उक्त समूहको सहयोगी शिक्षकलाई १ हजार रुपैंया प्रोत्साहन दिइने बताइएको छ ।

यता, गायन तर्फ प्रथम हुने विद्यार्थीलाई ५ हजार रुपैंया र सहयोगी शिक्षकलाई ३ हजार रुपैंया, द्धितिय हुने विद्यार्थीलाई ४ हजार रुपैंया र सहयोगी शिक्षकलाई २ हजार रुपैंया र तृतिय हुने विद्यार्थीलाई ३ हजार रुपैंया पुरस्कारको व्यवस्था गरिएको छ भने शिक्षकलाई १ हजार रुपैंया प्रोत्साहन रकम दिइने आयोजकले जनाएको छ ।

गत वर्ष पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमलाई यस पटक थप व्यापक बनाइएको आयोजकले बताएको छ । आयोजकको अनुसार करिब १० हजार जना शिक्षक, विद्यार्थी लगायत अभिभावकको सहभागिता हुने अनुमान गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार्न समिति
शैक्षिक गुणस्तर बृद्धिका लागि वडा कार्यालयले वडामा रहेका विद्यालयहरुसँगको समन्वयमा समिति नै गठन गरेको छ । गत बर्ष २०७९ मंसिर २६ गते स्थापना भएको शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ वडाभित्रको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको समितिका संयोजक एवंम् श्री श्रमिक माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल बताउँछन् । सामुदायिक र संस्थागत विद्यालयबीचको सम्बन्धलाई प्रगाढ बनाएर वडा स्तरीय खेलकुद तथा अन्य शैक्षिक कार्यक्रम आयोजना गर्ने उदेश्यका साथ समिति स्थापना गरिएको दाहाल बताउँछन् ।

समितिमा वडा भित्र रहेका चारवटा सामुदायिक विद्यालय तथा चारवटा निजी विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । समितिमा भएका छलफल र समन्वयका आधारमा शैक्षिक गतिविधिहरु आयोजना गरिदैं आएको समितिका संयोजक दाहालको भनाइ छ । शैक्षिक विकासका लागि वडा कार्यालयकै गुरुयोजना अनुसार समिति बनाएर शैक्षिक कार्यक्रम गर्दा विद्यार्थीहरुमा सकारात्मक परिवर्तन आएको छ, संयोजक दाहालले भने, ‘मुख्य कुरा त अघिल्लो बर्ष वडा कार्यालयको आयोजनामा भएको बृहत् शैक्षिक महोत्सव तथा नृत्य प्रतियोगिताले विद्यार्थी तथा शिक्षकहरुमा एक प्रकारको उर्जा बढेको छ ।’

शैक्षिक विकासलाई मध्यनजर गर्दै वडा कार्यालयले यसअघि पनि विभिन्न कार्यक्रम, तालिम, प्रतियोगिता गरेको थियो । जसमा सबै कार्यक्रमहरु फलदायी भएको शिक्षकहरुको अनुभव छ । बालबालिकाहरुको सिकाईको पहिलो पाइला अर्थात् बालकक्षामा बालबालिकालाई कसरी खेल्दै, पढ्न सिकाउने भन्ने उदेश्यले गत पौष २१, २२ र २३ गते बालकक्षाको शैक्षिक सामाग्री निर्माण तालिमको आयोजना गरेको थियो । जसमा ८ वटा विद्यालयका झण्डै दुई दर्जन भन्दा बढी शिक्षिकाहरु यस तालिममा सहभागी भए । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै जाने क्रममा हाल यस वडामा रहेका विद्यालयका बालकक्षाहरुमा बाल सिकाईका शैक्षिक सामाग्रीहरु आवश्यकता अनुसार निर्माण गर्दै आइरहेको समितिका कोषाध्यक्ष तथा भुटनदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल बताउँछन् ।

यस्तै, गणित शिक्षकका लागि तालिम, पाठ्यक्रम प्रबोधिकरण तालिम तथा बृहत् शैक्षिक नृत्य तथा गायक प्रतियोगिता लगाएतका कार्यक्रमहरु सम्पन्न गरेको यस वडाले चालु आर्थिक बर्षमा पनि शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वडाध्यक्ष नविन सिग्देल बताउँछन्।

यतिमात्रै होइन, श्रमिक माध्यामिक विद्यालयको स्तरीकरणको लागि ५ लाख रुपैंया, आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयमा साइन्स ल्याबको लागि १५ लाख र डेक्स बेन्च निर्माणको लागि ५ लाख रुपैंया छुट्याएको छ । यस्तै, हेटौंडा क्याम्पसमा होटल म्याजनेजमेन्ट पढाउनका लागि ८ लाख रुपैंया, ओम साइ स्कुलको लागि ३ लाख रुपैंया छुट्याएको अध्यक्ष सिक्देलले बताए । साथै स्काउट प्रबद्र्धन कार्यक्रम, शिक्षक भलिवल कार्यक्रम लगाएतका लागि पनि वडाले आवश्यक बजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले हेटौंडा–४ वडा कार्यालयको आयोजनामा अघिल्लो बर्ष शैक्षिक मेला सम्पन्न गरिएको थियो । वडाभरका विद्यालयको स्टल, स्थानीय उत्पादन तथा महिला उद्यमीको सीपहरुले आकर्षण गर्ने मेलामा ९ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका थिए । शुक्रबारका लागि आयोजना गरिएको यो दोस्रो शैक्षिक मेला हो ।

प्रतिक्रिया
_MG_0074