तपस्वी रामबहादुर बमजन पक्राउ

पालिका डायरी
२४ पुष २०८०, २०:१८

तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

आफ्ना अनुयायीहरूमाथि बलात्कार र हिंसा गरेको आरोप लागेका बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित उनको पुर्खौली घरमा २६ कात्तिक २०७७ मा प्रहरीले सूचना टाँस गरेको थियो। त्यतिखेर वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जनाएको थियो।

एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा विचाराधीन छ। सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।

रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्। बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।

प्रतिक्रिया