लाङटाङ पुगेर फर्कने क्रममा धादिङका पथप्रदर्शक होटलमा मृत फेला

लाङटाङ पदमार्गमा एक पथप्रदर्शकको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे हुन्।
उनी शनिबार बिहान ११ बजे गोसाईँकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरिक्षक दीपक रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७० वर्षीया महिलालाई लाङटाङ घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए। लाङटाङ पुगेर फर्कने क्रममा पाण्डे सामान्य बिरामी परेका थिए। सुतेको स्थानमा भोलिपल्ट मृत भेटिएको रेग्मीले बताए।
पाण्डे लामो समयदेखि पथप्रदर्शकको काम गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्वीट्जरल्याण्डकी ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै उनलाई घुमाउँथे।
मृतक पाण्डेको शव पोस्टमार्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।