धर्म परिवर्तनका कारण न्वागी मनाउने चेपाङको संख्या घट्दै
राक्सिराङ ५ का २१ वर्षीय आशिष प्रजालाई आफन्तको घरमा न्वागी मनाएको हेर्न एकदमै मन पर्छ। उनी पनि चेपाङ नै हुन् तर आशिषले आफू ठूलो भएपछि न्वागी, दशैं तिहार जस्ता पर्व कहिल्यै मनाउन पाएका छैनन्। कारण उनको परिवारका सबै सदस्य क्रिश्चियन धर्मावलम्बी हुन्।
न्वागीको बारेमा थोरै मात्रै जानकार रहेका प्रजा भन्छन्, ‘म सानै हुँदा बाजेहरुले हाम्रै घरमा राति पुजाआजा गरेर न्वागी मनाएको थाहा छ। अहिले त मनाउने गरिएको छैन। तर रमाइलो लाग्छ। मनाउने आफन्तको घरमा हेर्न भने जाने गरेको छु।’
बागमती प्रदेशका तीन जिल्लाहरु धादिङ, चितवन र मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको पर्वको रुपमा शुक्रबार (आज) न्वागी पर्व मनाउँदै छन्। आफ्ना बारीमा फलेका अन्न र फलफूलहरु देवतालाई चडाएर खाने परम्परालाई चेपाङ जातीहरुले न्वागी खाने भन्दछन्। चेपाङ समुदायका मानिसहरूले प्रकृति पूजा, भूमि पूजा, वन पूजा गछन्।
भदौ महिनामा मकै, घैयालगायतका उपजहरूको उत्पादन हुने भएकाले न्वागीका बेला त्यस्ता अन्न उपजहरू पहिला आफ्ना दिवङ्गत पितृलाई चढाउने र त्यसपछि मात्र आफूले खाने अनुमति प्राप्त गर्ने चाड न्वागी हो।
यसैअनुसार मकवानपुरमा चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाका चेपाङहरुले पनि विधिवत् रुपमा यो पर्व हर्षोल्लासको साथ मनाउने गरेका छन्। पहिले/पहिले गाउँभरका मानिसहरु जम्मा भएर मनाइने यो पर्वमा समयहरु बित्दै जाँदा परम्परा मनाउने शैली र पर्वको महत्वहरु कम हुँदै गइरहेको भान हुन थालेको राक्सिराङ ५ बोडबारीका अखिलमान प्रजा (चेपाङ) बताउँछन्।
केही वर्षअघिसम्म गाउँमा भएका सबैले मनाउने गरिएको यो पर्व अहिले आधा मानिसहरुले पनि नमनाउने गरेको प्रजाको भनाइ छ। ‘बोटबारीमा एक दशक अघि १५/२० घर थिए।
एकै परिवारमा धेरै जना बस्थे। चुहिने खरको छानोमा तपतप भिज्दै पनि रात काटिन्थ्यो। तर पनि सबैको मन एउटै हुन्थ्यो। चाडपर्वमा बारीमा फलेका मकै, जंगलमा फलेका फलफूलहरु जम्मा गरिथ्यो त्यसैलाई बाँडीचुँडी पर्व मनाइन्थ्यो। तर अहिले त्यस्तो छैन। आ–आफै साइत हेरेर चित्तबुद्धलाई अन्न चढाउँछन्। पर्व मनाउँछन्। अहिले यही ठाउँमा पनि घरहरुको गन्ती थपिएको छ। तर न्वागी मनाउने घर भने उही १५/२० मात्रै हो’ अखिलमानले भने।
उनका अनुसार अहिले गाउँमा मान्छे नभएर न्वागी मनाउनेको संख्या कम भएको होइन। चेपाङ समुदायका अधिकांश मानिसहरुले हिन्दु धर्म परिवर्तन गरेपछि आधा भन्दा बढी परिवारहरुले न्वागी नमनाउने भएका हुन्। कसले कुन धर्म मान्ने भन्ने आफ्नै रोजाई हुने बताउँदै अखिलमान भन्छन्, ‘म एक झाँक्री पनि हुँ। चेपाङ जाती भएर पनि हाम्रो आफ्नो धर्म जोगाउन नसकिएला कि भन्ने डर पनि लाग्छ कहिलेकाँही।
गाउँका आधाआधी मान्छेहरु अहिले क्रिश्चियन धर्म मान्छन्। त्यो कारणले पनि पहिला/पहिलाको जस्तो सबै चेपाङ दाजुभाइ दिदीबहिनीहरुले मान्दैनन्। विदेशी धर्मले हामी चेपाङहरुको चाडपर्वहरु मासिने डर हुन थालिसक्यो।’
त्यसोत, सानै उमेरदेखि आफ्ना बाउबाजेले मनाउँदै आएको पर्व सोही गाउँका श्यामबहादुर प्रजा (चेपाङ) ले विगत २२ वर्षदेखि मनाएकै छैनन्। आफू २२/२३ वर्षको हुँदा देखि धर्म परिवर्तन गरेका श्यामबहादुर चेपाङको प्रमुख पर्व भएपनि आफ्नो धर्मभित्र नपर्ने कारण नै पर्व नमनाएको बताउँछन्। उनको परिवारमा रहेका झण्डै दुई दर्जन परिवार सदस्य कसैले पनि न्वागी नमनाउने भएका हुन्।
‘पहिले प्रसाद चढाउने श्यामबहादुरका परिवार अहिले देवतालाई चढाएका प्रसाद पनि खाँदैनन्। जाँड रक्सि खाँदैनौं। भगवान् नमान्ने भएकोले त्यहाँ चडाएको केही पनि खान मिल्दैन। तर इष्टमित्र भेट्न जाने भने गरेका छौं,’ उनले भने।
लोपोउन्मुख चेपाङको संस्कृती र परम्परा धर्म परिवर्तनको चपेटामा पर्दै गइरहेका छन्। अधिकांश चेपाङ समुदायका मानिसहरूले क्रिश्चियन धर्म अपनाएर विश्वासी बनेको अवस्था छ। अहिले धर्म परिवर्तन भइसकेपछि न त गाउँमा न्वागीको सौन्दर्य भेटिन मुस्किल छ। पुरातन बलिप्रथामा आधारित न्वागी पूजा लोप हुँदै गएको छ भने यसलाई औपचारिकता र प्रचारबाजीमा सीमित हुने अवस्था छ।
नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ। छिटफुट २४ जिल्लामा बसोवास रहेको चेपाङ जातीको जनसंख्या देशभर ७० हजार भन्दा बढी रहेको बताइएको छ। तीमध्ये मकवानपुरमा चेपाङ जातीको जनसंख्या ३० हजार भन्दा बढी रहेको अनुमान छ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिकामा चेपाङ समुदायको बसोवास रहेको छ भने बागमती प्रदेशमा भने मकवानपुर सहित चितवन र धादिङमा पनि चेपाङ समुदायको बसोबास रहेको छ।