टेस्लाको सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई, सिङ्गल चार्जमा ८०५ किमिसम्म गुड्ने

पालिका डायरी
१७ मंसिर २०७९
टेस्लाको सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई, सिङ्गल चार्जमा ८०५ किमिसम्म गुड्ने

टेस्लाले आफ्नो सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई गरेको छ । पहिले नै भएको सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यी ट्रकको डेलिभरी पेप्सीलाई गरेको हो । यद्यपि यो ट्रकको मूल्य, भविष्यको उत्पादन अनि बजारमा आपूर्तीको विषयमा केही पनि खुलाइएको छैन ।

यसअघि कम्पनीले ४८३ किलोमिटर रेन्जको सेमी ट्रकको मूल्य एक लाख ५० हजार डलर र ८०५ किलोमिटर रेन्जको सेमी ट्रकको मूल्य एक लाख ८० हजार डलर तोकेको बताइएको थियो । तर पेप्सीलाई डेलिभरी गरेको मूल्यको विषयमा कुनै जानकारी बाहिरिएको छैन ।

एलन मस्कले यो ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै कार्गोको लागि सहज र छिटो काम हुने बताउँदै आएका छन् । उनकाे कम्पनीले विगत पाँच वर्षदेखि यो विद्युतीय ट्रकमा काम गरिरहेको थियो ।

मस्कका अनुसार टेस्लाको सेमी ट्रकले एक पटकको फुल चार्जमा अधिकतम ८०५ किलोमिटरसम्मको रेन्ज दिन्छ । पेप्सीले सन् २०१७ मा नै टेस्लाको १०० ओटा सेमी ट्रक बुक गरेको थियो । यद्यपि अहिले कति ओटा गाडी डेलिभरी गरिएको भन्ने विषयमा केही खुलाइएको छैन ।

प्रतिक्रिया