विश्वकपले तात्दैछ माहोल

पालिका डायरी
२१ कार्तिक २०७९, ११:५७
विश्वकपले तात्दैछ माहोल

पछिल्ला केही महिनायता देश सांस्कृतिक पर्वमय बनेको छ । नेपालीको महान् चाड दसैं र तिहारले क्रमशः असोज र कात्तिक महिना पर्वमय बन्यो । यसैबीच छठ पर्व पनि थियो ।

यी चाडबाड सकिएलगत्तै नेपाली समाजलाई अर्को पर्वले छेक्दैछ । त्यो हो विश्वकप फुटबल । विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको ठूलो प्रतियोगिता हो विश्वकप, जसले आगामी चार वर्षका लागि प्रतिस्पर्धी ३२ मध्ये जुन कुनै एक टिमलाई विश्व च्याम्पियनको ताज पहिर्‍याउने छ ।

नेपालमा पनि फुटबलको लोकप्रियता सबैभन्दा बढी छ । त्यसैले विश्वकप फुटबलले उल्लासपूर्ण वातावरण सिर्जना गरिरहेको छ । उसै पनि नेपालमा फुटबलको संस्कार पुरानो र समृद्ध छ । कतार विश्वकपमा नेपालको आफ्नै टिम छैन । इतिहासमै थिएन र भविष्यमा पनि विश्वकपमा नेपालको उपस्थिति होला भन्नेमा खासै उत्साहपूर्ण आस गर्न सकिन्न । तर खेलप्रेमी मात्र नभई सामान्य मानिसमा समेत चासो जगाउने भएकाले कतार विश्वकप नेपाली समर्थकका लागि पनि विशेष छ ।

मंसिर ४ गतेदेखि कतारमा विश्वकप फुटबल शुरू हुँदै छ । एसिया महादेशमा नै हुन लागेकाले पनि यसपालि नेपाल विश्वकपमय बनिरहेको छ । मंसिर ४ गते इक्वेडर र आयोजक कतारबीचको खेलबाट सुरु हुने विश्व फुटबलको कुम्भमेला सारा देशलाई फुटबलको ज्वरोमा तताउँदै पुस ३ सम्म चल्नेछ । त्यसैले त विश्वकप नजिकिँदै गर्दा यसबारे विश्लेषण, चर्चा, आँकलन र टिमको समर्थन हुन थालिसकेका छन् ।

स्वाभाविक रूपमा राजनीनिज्ञ, सेलिब्रेटी र विभिन्न पेसासँग आबद्ध व्यक्तिका लागि पनि विश्वकप फुटबल दुई महिनासम्म चासो र चर्चाको पहिलो विषय बन्नेछ । धेरैले मनपर्ने टिमको समर्थनमा सामाजिक सन्जालभर आफ्नो धारणा पोस्ट्याउँछन् ।

यीबाहेक अन्य क्षेत्रमा पनि विश्वकपले विशेष महत्व राख्छ । बजारभर विश्वकपका सहभागी विभिन्न देशका जर्सीहरू छ्यापछ्याप्ती झुन्ड्याइएका हुन्छन् । अहिले खेल सामग्री व्यापारीहरूका लागि पनि विश्वकप विशेष बनिरहेको छ । विभिन्न खेलाडीको नामांकित जर्सी लगाएर पक्ष र विपक्षसहित फुटसल सेन्टर या फुटबलका मैदानमा प्रतियोगिता नै भइरहन्छन् ।

त्यसैले पनि अन्य समयको तुलनामा व्यापारीका लागि यो राम्रो अवसर हो । तर, जाडो बढ्दै गएकाले केही असर भने परेको छ । धुम्बाराहीमा रहेको इलाइट स्पोट्र्सका प्रोप्राइटर रविन शाक्य गत संस्करणको तुलनामा यसपालि त्यति राम्रो व्यापार हुन नसके पनि विश्वकपले कात्तिकको ठण्डीमा पनि माहोल भने तताइरहेको बताउँछन् ।

‘विश्वकप हामी खेल सामग्री व्यापारीका लागि विशेष नै हुन्छ । तथापि ठ्याक्कै जाडो मौसम बढेकाले गत संस्करणको तुलनामा त्यति राम्रो चाहिँ हुन सकेको छैन । सन् २०१८ मा रसियामा भएको विश्वकपको समय व्यापार निकै राम्रो थियो, त्यो अवस्था अहिले छैन,’ शाक्यले भने, ‘जाडोले गर्दा टिसर्ट लगाएर हिँड्ने अवस्था भएन । तर, पनि विश्वकपमा सहभागी विभिन्न राष्ट्रका टिसर्टहरू अर्डर भने आइरहेका छन् । त्यसैले विश्वकपको माहोल बनिसकेको छ । यसपालि जर्सीको ठाउँमा ज्याकेट लगाउन चाहने समर्थक पनि धेरै छन् । हामीकहाँ ज्याकेट मगाउनुपर्‍यो भनेर आउने ग्राहकको संख्या उल्लेख्य छ ।’

नेपालमा एडिडासका सामग्री बिक्री गर्दै आइरहेका राजीव श्रेष्ठले अन्य समयको तुलनामा विश्वकपले विशेष माहोल सिर्जना गर्ने बताए । ‘हामीले विश्वकपका लागि सामग्री ल्याइसकेका छैनौं । तर, माग गरिरहेका छौं । यो समय फुटबलप्रेमीका लागि विशेष हो । त्यसैले विश्वकपको समय बजारमा कारोबार पनि बढ्छ,’ श्रेष्ठले भने ।

विश्वकपका समय टेलिभिजन व्यापारीका लागि राम्रो अवसर हुने गर्छ । विश्वकपका खेलहरू ठूलो इन्च र राम्रो टिभीमा हेर्ने सबैको चाहना हुन्छ । चाडपर्वका समयमा जस्तै विश्वकपका बेलामा पनि छुटको व्यवस्था राखिएको हुन्छ । त्यसैले टेलिभिजन पसलतर्फ पनि विश्वकपका समय केही माहोल बढ्ने गर्छ ।

नयाँ बानेश्वरमा रहेको ए वान सेल्स एन्ड सर्भिसका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले विश्वकपको समयमा राम्रो मात्रामा टेलिभिजन बिक्री हुने गरेको बताए ।

‘भर्खरै ठूला चाड सकिएका छन् । दसैं र तिहारको समयमा राम्रो संख्यामा टेलिभिजन बिक्री भए । दसैं–तिहारलगत्तै विश्वकप भएकाले विगतको तुलनामा कम बिक्री भएजस्तो देखिएको छ । तर, मानिसले दसैं तिहारमै विश्वकपसमेत लक्षित गरेर किनिसकेका छन्,’ श्रेष्ठले भने, ‘नेपालीका ठूला चाड सकिएका छन् । अब विस्तारै विश्व फुटबलकै सबैभन्दा ठूलो चाडको माहोल तात्दैछ । विश्वकप ठूलो टिभीमा हेरौं भन्ने सबैको चाहना हुन्छ, त्यसैले पनि विश्वकपले व्यापार बढ्छ ।’

अझ भनौं टिभी, खेलकुद सामग्री व्यापारीका लागि भने राम्रो अवसर पनि हो । केबल र नेट व्यवसायीले पनि यो अवसरमा आफ्नो व्यापार बढाउने प्रयत्न गर्छन् । छुटको व्यवस्था र आकर्षण सेवा दिने भन्दै उनीहरूलाई आफ्नोतर्फ आकर्षित गर्ने गरेका छन् । हरेक कारणले विश्वकप फुटबलले छुट्टै माहोल निर्माण गर्छ । मनोरन्जन मात्र नभएर व्यापारिक हिसाबले पनि विश्वकपले विशेष महत्व राख्दछ ।

प्रतिक्रिया
top_logo_copy_DbwWw2xUGD